समाचार
भोटेकोशी गाउँपालिका अध्यक्ष कप राष्ट्रिय महिला भलिवल प्रतियोगिता २०७८ समापन
भोटेकोशी गाउँपालिका अध्यक्ष कप राष्ट्रिय महिला भलिवल प्रतियोगिता २०७८ को उपाधि शसस्त्र प्रहरीले हात पारेको छ । आज भएको फाईनल खेलमा न्यू डाईमण्ड क्लवलाई सोझोे सेटमा पराजित गर्दै शसस्त्रले उपाधि हात पारेको हो । यो सँगै शसस्त्रले तीन लाख रुपैयाँ हात पारेको छ । दोस्रो हुने न्यू डाईमण्ड क्लवले भने दुई लाख रुपैयाँ पाएको छ । त्यस्तै तेस्रो वनेको आर्मी क्लवले एक लाख रुपैयाँ प्राप्त गरेको छ । चौथो बनेको नेपाल प्रहरीको टिमले पचास हजार रुपैयाँ पाएको छ । आज भएको समापन कार्यक्रममा प्रमुख अतिथि भोटेकोशी गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलले खेलाडी र टीम लाई पुरस्कार बितरण गर्नुभएको थियो । प्रतियोगितामा वेष्ट स्ट्राईकर आर्मी क्लवकी शान्ति थारु बनेकी छिन् । वेष्ट शटरको उपाधि शसस्त्रकी बिनिता बुढाथोकीले हात पारेकी छिन् । वेष्ट सर्भिसको उपाधि न्यू डाईमण्डकी प्रतिभा मालीले पाएकी छिन् । त्यस्तै वेष्ट ब्लकर आर्मीकी सुनिता खड्का बनेकी छिन् । वेष्ट डिफेण्डर भने न्यू डाईमण्डकी सलिना श्रेष्ठ बनेकी छिन् । उनीहरुलाई प्रतिब्यक्ति दुई हजार रुपैयाँ र ट्रफी प्रदान गरिएको थियो । प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गरेकी शसस्त्र प्रहरीकी सरस्वती चौधरीले वेष्ट प्लेयरको उपाधिसहित बीस हजार रुपैयाँ पाएकी छिन् । उत्कृष्ट कोचको उपाधि भने शसस्त्रका महेश चौधरीले पाएका छन् । समापन कार्यक्रममा न्यू डाईमण्ड क्लवका कुमार राई तथा भलिवलका पूर्वराष्टिय खेलाडी भरतकुमार शाहलाई भोटेकोशी गाउँपालिकाको तर्फबाट दश दश हजार रुपैयाँसहित सम्मान गरिएको छ ।